विराटनगर । कोसी प्रदेशका १४ वटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ। कोसी प्रदेश समन्वय परिषद्, कतारको आयोजना तथा कतारमा स्थापित विभिन्न जिल्ला संस्थाहरूको सहकार्यमा प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरूलाई २८ थान ह्विलचियर प्रदान गरिएको हो।

प्रवासमा श्रम गरिरहेका कोसी प्रदेशवासी युवाहरूले सामाजिक उत्तरदायित्व बोध गर्दै अस्पतालमा उपचार तथा स्वास्थ्य सेवा लिन आउने अशक्त, अपाङ्गता भएका र ह्विलचियर आवश्यक पर्ने सेवाग्राहीलाई सहयोग पुर्‍याउने उद्देश्यले यो मानवीय अभियान सञ्चालन गरेका हुन्।

कोसी प्रदेश स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा ह्विलचियर हस्तान्तरण गरिएको थियो। कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, कर्मचारी तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


त्यसैगरी, कोसी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा, संस्थापक अध्यक्ष चुणामणि कार्की, संस्थापक सल्लाहकार चानक पोखरेललगायतको उपस्थिति रहेको थियो।

परिषद्का महासचिव महेन्द्र उप्रेतीका अनुसार प्रदेशका १४ जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कुल २८ थान ह्विलचियर वितरण गरिएको छ। प्रतिथान २० हजार रुपैयाँ मूल्य पर्ने ह्विलचियरहरू कुल ५ लाख ६० हजार रुपैयाँ बराबरका रहेका छन्।

ह्विलचियर वितरण गरिएका स्वास्थ्य संस्थाहरूमा झापाको बाह्रदशी अस्पताल र बनियानी प्राथमिक स्वास्थ्य केन्द्र, मोरङको कोशी अञ्चल अस्पताल, सुनसरीको जिल्ला अस्पताल इनरुवा, उदयपुरको जिल्ला अस्पताल गाईघाट, इलामको जिल्ला अस्पताल, पाँचथरको जिल्ला अस्पताल फिदिम र ताप्लेजुङको जिल्ला अस्पताल फुङलिङ रहेका छन्।

यसैगरी, सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी र चैनपुर अस्पताल, तेह्रथुमको जिल्ला अस्पताल म्याङ्लुङ र प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजार, भोजपुरको जिल्ला अस्पताल भोजपुर र दिङ्गला नगर अस्पताल तथा खोटाङका जन्तेढुंगा र बराह पोखरी गाउँपालिकास्थित आधारभूत अस्पतालहरूलाई पनि ह्विलचियर उपलब्ध गराइएको छ।

ओखलढुङ्गाको जिल्ला अस्पताल रुम्जाटार, धनकुटाको जिल्ला अस्पताल र सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुलाई समेत ह्विलचियर प्रदान गरिएको परिषद्ले जनाएको छ।

कार्यक्रममा स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले ह्विलचियर वितरणले प्रदेशका दुर्गम तथा जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई ठूलो राहत पुग्ने बताए। उनले कोसी प्रदेश सरकारले जिल्ला अस्पतालहरूको स्तरोन्नति तथा सुदृढीकरणका लागि विभिन्न काम गरिरहेको जानकारीसमेत दिए।

प्रवासमा रहेर पनि आफ्नो प्रदेश र समुदायप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने कोसी प्रदेश समन्वय परिषद् कतार तथा सहकार्य गर्ने संस्थाहरूको यो अभियानले सेवाग्राहीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।