इटहरी। श्रम तथा रोजगार कार्यालय विराटनगरले चाडपर्वलगत्तै इटहरीका विभिन्न म्यानपावर कम्पनीमा अनुगमन गरेको छ। सेवाग्राहीका गुनासालाई सम्बोधन गर्ने उद्देश्यले नियमित अनुगमनअन्तर्गत म्यानपावर कम्पनीहरूको निरीक्षण गरिएको कार्यालयका इन्जिनियर दुर्गा आचार्यले बताउनुभयो।
पछिल्लो समय इजाजतपत्रबिना कारोबार गर्ने, वैदेशिक रोजगारीमा पठाउने नाममा तोकिएभन्दा बढी रकम लिने तथा सेवाग्राहीको राहदानी कार्यालयमै राख्नेजस्ता गुनासा आउने गरेको उहाँले जानकारी दिनुभयो।
अनुगमनका क्रममा केही कम्पनीमा शंकास्पद कागजात फेला परेपछि कार्यालयले ती कागजात नियन्त्रणमा लिएको जनाएको छ। सम्बन्धित म्यानपावर कम्पनीलाई तीन दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित श्रम तथा रोजगार कार्यालयमा उपस्थित हुन पत्राचार गरिएको आचार्यले बताउनुभयो।
कार्यालयका अनुसार प्राप्त कागजातको अध्ययन तथा आवश्यक छानबिनपछि थप प्रक्रिया अघि बढाइनेछ।


