इटहरी स् दसैँ–तिहार नजिकिएसँगै कुनै समय गाउँघरमा रातोमाटो र कमेरो खोज्ने चटारो सुरु हुन्थ्यो। चाडपर्व आउनुभन्दा सातादिन अघिदेखि नै गाउँका युवा माटो खोज्न टाढाटाढासम्म पुग्थे। कोही माटो खन्ने, कोही बोकेर ल्याउने त कोही घरघरमा पुर्याउने काममा जुट्थे।
घरका भित्ता, पिँढी र आँगन लिपपोत गर्न बालबालिकादेखि वृद्धवृद्धासम्म सक्रिय हुन्थे। तर अहिले गाउँघरमा यो दृश्य विरलै देखिन्छ। रातोमाटो र कमेरोले सजिने घरको ठाउँ आधुनिक रङले लिन थालेका छन्। पाँचथरको तुम्बेवा गाउँपालिका–२, मौवाका ८८ वर्षीय हर्कध्वोज लावतीका लागि रातोमाटो र कमेरोले घर सजाउने चलन बितेको समयको सम्झना बनेको छ।
दसैँ–तिहारअघि घर सफा गरेर भित्ता र आँगन लिपपोत गर्दाका दिन उनलाई अझै सम्झना छ। त्यतिबेला घरलाई चिटिक्क पार्न बजारबाट रङ किनिरहनुपर्दैनथ्यो। गाउँवरपर पाइने माटो नै घर सजाउने प्रमुख सामग्री थियो। छथर गाउँपालिका–२ की ७७ वर्षीया लीलामाया लिम्बुका लागि पनि रातोमाटो र कमेरोले घर पोतेका दिन पुराना सम्झना हुन्। उनका अनुसार दसैँ आउनुभन्दा एक महिनाअघिदेखि नै माटोको जोहो गर्नुपर्ने अवस्था थियो।
घर लिपपोत गर्नु चाडपर्वको नियमित तयारी मानिन्थ्यो। परिवारका सदस्य मिलेर घर सफा गर्ने, भित्ता पोत्ने र आँगन चिटिक्क पार्ने काम गर्थे। अहिले घर सजाउने शैली फेरिएसँगै त्यो परम्परा पनि क्रमशः हराउँदै गएको छ। कुनै समय दसैँ–तिहारको तयारी घरको सरसफाइबाट सुरु हुन्थ्यो। घरका भित्ता, पिँढी र आँगन सफा गरेपछि रातोमाटो र सेतो कमेरोले लिपपोत गरिन्थ्यो। घरको तल्लो भागमा रातोमाटो र माथिल्लो भागमा सेतो कमेरो लगाउने चलन थियो। रातो र सेतो रङको संयोजनले गाउँका घरलाई छुट्टै आकर्षण दिन्थ्यो।
छथर गाउँपालिका–४ का देशबहादुर लिम्बुका अनुसार घरदेखि आँगनसम्म सफा गरेर लिपपोत गरेपछि मात्रै दसैँ आएको अनुभूति हुन्थ्यो। घरको रूप फेरिने यो काम चाडपर्वको उत्साहसँग जोडिएको थियो। रातोमाटो र कमेरो खोज्ने काम पनि गाउँमा सामूहिक रूपमा हुन्थ्यो। युवाहरू समूह बनाएर माटो पाइने ठाउँमा पुग्थे। माटो खन्ने, बोकेर ल्याउने र घरघरमा बाँड्ने काममा एकअर्कालाई सघाउँथे।
कतिपय ठाउँमा छिमेकी मिलेर एकै दिन धेरै घर लिपपोत गर्ने चलन थियो। एउटाको घरको काम सकेपछि अर्कोको घरमा सघाउन जाने परम्पराले गाउँमा आपसी सहयोग र आत्मीयता बढाउँथ्यो। तर अहिले गाउँघरको दृश्य फेरिएको छ। रातोमाटो र कमेरोले पोतिएका घरको ठाउँमा चुन, सिमेन्ट र बजारमा पाइने विभिन्न रङले सजिएका घर देखिन थालेका छन्।
पक्की घर निर्माण बढेसँगै भित्ता र अन्य संरचनामा आधुनिक रङ प्रयोग गर्ने चलन गाउँसम्मै पुगेको छ। ढोका र झ्यालमा इनामेल तथा भित्तामा विभिन्न प्रकारका रङ लगाउनु सामान्य बनेको छ। घर सजाउने सामग्रीसँगै चाडपर्वको तयारी गर्ने शैलीसमेत फेरिएको छ। पहिले परिवार र छिमेकी मिलेर लिपपोत गर्ने काम अहिले कतिपय ठाउँमा कामदार लगाएर गराउन थालिएको छ।
बजारबाट रङ किन्ने र आवश्यकताअनुसार कामदार बोलाउने प्रवृत्ति बढेको छ। यसले घर सजाउन लाग्ने समय र श्रम घटाएको छ। तर परिवार र छिमेकी मिलेर काम गर्ने पुरानो अभ्यास भने कमजोर बन्दै गएको मनबहादुर कार्की बताउँछन्। आधुनिक रङले घरलाई आकर्षक बनाउनुका साथै सजावटका नयाँ विकल्प पनि दिएको छ। पक्की घरको बनावटअनुसार विभिन्न रङ प्रयोग गर्न सकिन्छ।
बदलिँदो समयसँगै निर्माण सामग्री र प्रविधिमा परिवर्तन आउनु स्वाभाविक पनि हो। तर घरको रङ फेरिँदै गर्दा पुर्खाले अपनाउँदै आएको सीप, स्थानीय स्रोतसाधनको उपयोग र चाडपर्वसँग जोडिएको सामूहिक संस्कार हराउँदै जानु चिन्ताको विषय बनेको छ। रातोमाटो र कमेरोको प्रयोग घरको बाहिरी स्वरूपमा सीमित थिएन। यसले ग्रामीण समाजको श्रम संस्कृति, आपसी सम्बन्ध र स्थानीय वातावरणसँगको निकटतालाई पनि झल्काउँथ्यो।
माटो खोज्न जाने युवाको समूह, लिपपोतमा जुट्ने परिवार र चाडपर्वअघि गाउँभरि देखिने सरसफाइका दृश्य ग्रामीण जीवनका अभिन्न हिस्सा थिए। स्थानीय स्रोतसाधनको उपयोगसँगै सामूहिक श्रमले सामाजिक सम्बन्धलाई समेत बलियो बनाउँथ्यो।आधुनिक रङको बढ्दो प्रयोगसँगै नयाँ पुस्ताका लागि रातोमाटो र कमेरोले घर पोत्ने चलन नौलो बन्दै गएको छ। बजारमा सजिलै रङ उपलब्ध हुन थालेपछि परम्परागत विधिबारे जान्ने र त्यसको अभ्यास गर्ने मानिसको सङ्ख्या पनि घट्न सक्छ। पुरानो पुस्ताले भोगेको जीवनशैली र त्यससँग जोडिएका अनुभव नयाँ पुस्तासम्म हस्तान्तरण हुन नसके ग्रामीण समाजका यस्ता मौलिक अभ्यास इतिहासका सम्झनामा सीमित हुने जोखिम छ।
घरको भित्तामा लगाइने रङ फेरिए पनि त्यससँग जोडिएको सामूहिक श्रम, आपसी सहयोग र मौलिक जीवनशैलीको महत्त्व भने उस्तै छ। रातोमाटो र कमेरोले सजिएका घर अहिले कम देखिए पनि तिनले बोकेको ग्रामीण संस्कृतिको सम्झना पुरानो पुस्ताका मनमा अझै ताजै छ।


