मिस इटहरी २०२२ आयोजना गर्ने आयोजकले प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र नदिई कार्यक्रम सम्पन्न गरेको पाइएको छ । सोमबार इटहरीमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि बनेको कार्यक्रममा आयोजकले आलटाल गर्दै प्रतियोगीलाई स्टेजबाट खालि हात पठाएको हो ।

 विजेता, फर्स्ट रनर अप र सेकेन्ड रनर अप लाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार सहित पुरस्कार वितरण गरेपछि केही नभनी कार्यक्रम सम्पन्न भएको थियो । 

१४ जना सहभागी मध्ये ११ जनालाई सब टाइटल र प्रमाणपत्र दिने भनेको थियो ।  तर आयोजकले अपमान गर्ने गरी कार्यक्रमबाट अन्यलाई कुनै सरसल्लाह नगरी सब टाइटल वितरण स्थगन गरेपछि उनीहरूले आपत्ति जनाएका छन् । 

सहभागी मध्ये एकले भनिन् ‘हामीलाई टप भोट लिस्ट, टप फोटोग्राफि, पपुलर चोइस, मल्टिमिडिया, मिस पर्सानालिटि लगायत कुनै पनि दिनु भएन ।’ आयोजकको गम्भीर लापरबाही भएको भन्दै उनीहरूले आफ्नो बुवा आमाका अगाडि मुख देउन गाह्रो भएको गुनासो गरे । कति दुख गरेर कार्यक्रममा आइयो तर यो खालको स्टेज कार्यक्रमले आफ्नो करियरमा धक्का लागेको समेत आक्रोश पोखे । 

हामीलाई आयोजकले प्रयोग गर्न खोज्यो, रातभर १३ घण्टा भोकै बस्न लगाएर कुनै वास्ता गरेन । अर्की सहभागीले भनिन् ‘आयोजकको यो अपमानले मिस इटहरीको बदनाम भएको छ ।’ 

आयोजक ग्लोबल ड्रिम म्यानेजमेन्टसँग सम्झौता भए अनुसार कुनै पनि सर्त पुरा नगरेको नाम नबताउने सर्तमा सहभागीले बताइन् । उनले इटहरी चौकमा ट्राफिक प्रहरीसँग सहकार्य गरेर केही कार्यक्रम गर्ने तथा फिटनेस लगायतका कुनै पनि कार्यक्रममा सहभागी नगराएको बताइन् । 

यता आयोजक ग्लोबल ड्रिम म्यानेजमेन्ट कम्पनीका प्रमुख स्मित कार्की समय अभावले सब टाइटल वितरण गर्न नसकिएको बताउँछन् । उनले रातको २ बजे कार्यक्रम सकिएको भन्दै आगामी शनिवार एक कार्यक्रम गरी प्रतियोगी ११ जनालाई सब टाइटल बापतको पुरस्कार वितरण गर्ने आश्वासन दिए । 

कम्पनीका अध्यक्ष कार्कीले मिस इटहरी २०२२ विजेताले सिधै मिस नेपाल २०२२ मा सहभागी बन्न पाउने बताएका थिए । उनले सम्झौता गरेको भनेको कम्पनीले कुनै पनि सम्झौता नभएको बताएको छ । द हिडन ट्रेजर प्रालि र ग्लोबल ड्रिम म्यानेजमेन्ट प्रालिले गरेको सम्झौता पत्र भए पनि कुन मितिमा गरेको हो भन्ने किटान गरिएको छैन । यस शङ्काले पनि विजेताले मिस नेपालमा सहभागी हुन पाउने हो या हैन आशङ्का बढेको छ । 

समारोहमा विजेता डिना कटुवाल, फर्स्ट रनर अप बिपना शाह शङ्कर र सेकेन्ड रनर अप सारा राई भएकी थिइन् ।