• २०३१ सालमा मैले पढाइ सकेर जनकपुर पुगेका बेला आमा जनकपुरमै हुनुहुन्थ्यो। पढाइ सकेर आएको थाहा पाएपछि उहाँले खुसी मान्दै सोध्नुभएको थियो–
'पढाइ सकिछस् बाबु, अब के गर्छस् त? तैंले काम गर्न थालेपछि म तैंसँग बस्छु है। मलाई सधैं यताउति हिँडिरहने नपार् है बाबु ! मैले बुढेसकालमा कति दुःख पाउनु !'
• आमाका आशा र सपनाहरू मेरो आसन्न क्रान्तिकारी महायात्राले धूजाधूजा पार्दैछन् भन्ने सच्चाइ आमालाई म बताउन सक्दिनँ थिएँ। मैले त्यस बेला कहिल्यै नफिर्ने क्रान्तिको बाटो रोजिसकेको थिएँ। क्रान्तिकारी राजनीति बोकेर भूमिगत जीवन सुरूआत गर्ने अन्तिम तयारी भइइसकेको थियो मेरो।
म त्यस बेला पढाइ छाडेर, पाएका सर्टिफिकेटहरू च्यातेर, स्विट्जरल्यान्डका लागि पाएको पाँचवर्षे छात्रवृत्ति समेत त्यागेर क्रान्तिकारी बाटोमा लाग्ने संकल्प गरेर हिँडिसकेको थिएँ।
• एकाधपटक त-
'तँलाई के भो बाबु !' भनेर रूनु पनि भयो। आमालाई म केही जवाफ दिन सक्दिनँ थिएँ। यस्तो अवस्थामा म घरबाट भाग्न अर्थात् भूमिगत हुन चाहन्थेँ। त्यसैअनुसार मैले भूमिगत पार्टीका साथीहरूसँगको सम्पर्क बाक्लै बनाउन थालेको थिएँ।
• एकदिन, साँझसाँझ पर्न लागेका बेला एउटा सानो कपडाको झोला, त्यसमा एउटा लुंगी, माओत्सेतुङका रचना, एउटा लेख्ने कापी र एउटा कलम बोकेर हिँडे। त्यस बेला मैले एउटा सुतीको प्यान्ट र कमिज मात्र लगाएको थिएँ। आमाले हिँड्ने बेलाको मेरो चालामाला हेरिरहनुभएको थियो।
मैले अप्ठ्यारो मान्दै आमालाई भनेको थिएँ– 'आमा, साथीकोमा बोलाएको छ, म गएँ है।'
सामान्य देखिरहनुभएको थिएन आमाले। त्यसैले होला, उहाँले मेरा हात च्याप्प समातेर रून खोज्दै सोध्नुभएको थियो, 'भन् त बाबु ! तँलाई के भो? र, तँ कहाँ जाँदैछस्?'
आमाको यो आग्रह र प्रश्नको साँँचो उत्तर दिने साहस ममा थिएन। मैले आमातिर नहेरी झारा टार्ने हिसाबले 'कहीँ होइन, स्कुलमा सँगै पढ्दाको साथीले बोलाएकाले जान लागेको, आइहाल्छु क्या !' भनेको थिएँ।
• यसो भनिरहँदा मैले मेरा हात च्याप्प समाइरहेका उहाँका हातलाई एक किसिमले झड्कालेर छुटाउनु परेको थियो। म फटाफट निस्केर घरपारिको बाटोमा पुगिसकेको थिएँ। घरतिर फर्केर हेर्न पनि सकिरहेको थिइनँ।
तर आमाले केही ठूलो तर रूँदै गरेको स्वरले मलाई केही भन्दै गरेका कुरा भने मेरा कानमा परिरहेका थिए– 'फर्केर मतिर त हेर बाबु, केही खा'र त जा' यस्तैयस्तै आग्रह र अनुनय-विनय गरिरहनुभएको थियो उहाँ।
म घरतिर, आमातिर फर्केर हेर्दै नहेरी अँध्यारो हुँदै गरेको क्षितिजतिर उज्यालो हेर्ने कोशिस गर्दै फटाफट हिँडिरहेको थिएँ।
facebook Bata



