इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १६ मा नेकपा एमालेको तर्फबाट तेज नारायण चौधरीले वडाअध्यक्षको उम्मेदवारी दिएका छन् । चौधरी १५ वर्षदेखि नेकपा एमालेमा सक्रिय छन् । अघिल्लो निर्वाचनमा विजयी भएर उनले वडा सदस्यको कार्यभार सम्हालेका थिए । साथै उनी नेकपा एमाले १६ नं. वार्ड कमिटिको अध्यक्ष पनि हुन् ।
उनले विगतमा पनि जनप्रतिनिधि बनेर पाँच वर्ष बिताइसकेकाले आफू वडाको सबै क्षेत्रका विषयमा राम्रो संग जानकार रहेको बताए । उनले भने, वडा नं. १६ मा पूर्वाधारको क्षेत्रमा बाँकी रहेका धेरै कामहरु गर्नुपर्ने छ । यसका साथै जेष्ठ नागरिकको हकमा गर्नुपर्ने धेरै कुरा छन् । स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्न बाँकी छ ।
वार्ड नं. १६ मा दुई वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयहरुलाई स्तरोन्नति गरेर निजि विद्यालयको स्तरमा विकास गर्न जरुरी छ । दुईवटा मध्ये एउटा विद्यालय गुणस्तरको हिसाबले अब्बल छ त्यसलाई पनि अझै माथि उठाएर लग्नु पर्ने देखिन्छ । जसले गर्दा सामुदायिक विद्यालयमै विपन्न वर्गका बालबालिकाले गुणस्तर शिक्षा पाउन सक्छन् । यो विषयमा आफ्नो पहिलो प्राथमिक्ता रहने उनले बताए ।

यस्तै, स्वास्थ्यको क्षेत्रमा पनि धेरै समस्या छन् । प्राथमिक स्वास्थ्य केन्द्रबाट मानिसको आधारभूत परिक्षण वडाबाटै भएमा सहज हुने थियो । महिला, बालबालिका, अपांग सबै क्षेत्रमा काम गर्न बाँकी छ । महिलालाई शसक्तिकरणको अभियानमा अघि बढाएर रोजगारमूलक तालिम दिएर आयआर्जन बढाउनुपर्ने देखिएको छ ।
उनले भने, ‘वतावरणको क्षेत्रमा पनि काम गर्नुपर्ने छ । म वडाअध्यक्ष भएमा यि सम्पूर्ण काम गर्ने छु । १६ नं. वडालाई इटहरीकै समृद्ध र हरियाली वडा बनाउने छु ।’
‘म आफै पनि युवा वर्गको नेतृत्व गर्ने खालको उम्मेदवार हो भन्ने मलाई लागेको छ । मेरो उम्मेदवारी युवाको प्रतिनिधित्व पनि हो भन्ने बुझेको छु । मेरो उम्मेदवारी चाहीँ १६ नं. वडाको मात्र नभएर इटहरीकै युवाहरुको नेतृत्वको उम्मेदवारी हो भन्ने मलाई लागेको छ । मैले उम्मेदवारी दिइरहँदा सम्पूर्ण युवाहरुको साथ पाएको छु । युवाको क्षेत्रमा जेजे गर्नुपर्छ पहिले पनि जनप्रतिनिधिको हिसाबमा साथ समर्थन दिंदै आएको छु र अब पनि युवाको हकहितका लागि गर्नु पर्ने काम गर्ने छु,’ उनले भने ।

चौधरी आफूले निर्वाचन जित्नेमा निकै विश्वस्त छन् । उनले भने, ‘मैले निर्वाचन जित्छु भन्नेमा म पूर्ण विश्वस्त छु । विगतमा पनि मैले पाँच वर्षको कार्यकाल सम्पन्न गरिसके । यो पाँच वर्ष सम्पन्न गर्दै गर्दा हामीले इमान्दार पूर्वक निष्ठा पूर्वक जनताको सेवा गर्यौँ । र जति पनि विकास निर्माणका योजना छन् ती योजनाका अनुगमन गर्न त्यहाँका समस्याको समाधान गर्ने र हरेक घरघरमा व्यक्तिव्यक्ति संग जेजस्ता खालका दुःख पिडा भए सबैमा हामी दिनरात नभनि अहोरात्र जनताको साथ दियौँ । जनताको समस्या समाधान गर्नमा लागि पर्यौँ । हामीले समय र इमान्दारीताको लगानी गरेर वडाबासीको मन जितेका छौँ । त्यसैले मेरो जित सुनिश्चित छ भन्नेमा म विस्वस्त छु ।’

उनले आफू कहिल्यै पनि भ्रष्टाचार नगर्ने बताउँदै यस पटकको स्थानिय निर्वाचनमा वडाअध्यक्ष पदमा आमूल्य मतदान गरेर विजयी बनाइदिन वडावासीसंग अनुरोध गरेका छन् । उनले आफू विजयी भएमा बेइमान नगरी निष्ठापूर्वक वडावासीको सुख दुःखमा साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् ।


