धरान उपमहानगरपालिकाका दस्तावेजमा एउटा नारा लेख्ने गरिएको छ, ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय समृद्ध शहर ।’ यही नारालाई दीर्घकालीन विकास लक्ष्य भन्न थालिएको पनि दशकौं भइसक्यो । तर, धरानको सबैभन्दा विकट अनि दुर्गम क्षेत्र मानिएको धरान वडा नं. २० मा अध्ययन गर्ने स्कुले विद्यार्थीका लागि असहजता छ। पहाडै पहाडले घेरीएको यस वडामा वालबालिकालाई विद्यालय आउजाउँ गर्दा दैनिक चार घण्टादेखि छ घण्टासम्म लाग्ने गर्छ ।
धरान वडा नं. २० की कक्षा ४ मा अध्ययनरत पम्फा तामाङ्लाई विहान सबेरै उठेर विद्यालय पुग्न दुई घण्टा लाग्छ । फर्कदा बिहान जादाको थकानले अरु बढी समय लाग्छ । विद्यालय पुग्न साना र ठुला गरि १२ वटा खोला पार गर्नुपर्छ । जसले गर्दा वर्खाका बेला त निकै विद्यालय आउजाउँ गर्न पुरै त्रास हुने गरेको छ।
त्यसो त धरान वडा नं. २० का स्कुले विद्याथीलाई विद्यालय आउजाउँ गर्न सकस भएजस्तै धनकुटाको साधुरीगढी नगरपालिका बालबालिकाले पनि समस्या भोग्दै आएका छन् । सागुरीगढीका बालबालिका भने धरान वडा नं. २० मै अध्ययन गर्न आउने जाने गरेका छन् । धनकुटाको सागुरीगढीकी कक्षा १० मा अध्ययनरत प्रमिला पाण्डेका अनुसार तीन घण्टा हिडेर विष्णुपादुका आउँजाउँ गर्दा थकानले सारै गाह्रो हुने गरेको छ।
थकानले गर्दा बिहान र बेलुकाको समयमा पढ्न सक्दैनन् । जसले गर्दा पढाईमा स्कुलको मात्र भर हुने गरेको छ। सागुरीगढीबाट विष्णुपादुका आउजाउँ गर्ने प्रमिला पाण्डेसहित १० जना साथीको पनि त्यही समस्या छ ।
सागुरीगढीका स्कुले बालबालिका विद्यालय आउजाउँ गर्दा जंगल र खोलाले त झनै समस्या छ । खोला र जंगलका कारण आउँजाउँ गर्दा त्रासले स्कुले बालबालिकाको आङ् नै सिरिङ् हुने गर्छ ।
कतिपय अवस्थामा खोलामा बाढी आएको बेला स्कुल आउँजाउँ नै गर्न सक्दैनन् । जसले गर्दा सागुरीगढीका स्कुले बालबालिकाले शिक्षा आर्जन गर्नु बडो पीडादायी भएको छ।
धरानको बजार क्षेत्रको प्रमुख समस्या खानेपानी भएपनि वडा नं. २० को समस्या ओझेलमा पर्दै आएको छ। स्थानिय तह निर्वाचन २०७९ भर्खरै मात्र सकिएर जनप्रतिनिधि निर्वाचित भएसँगै विद्यालय संख्या थप गरेर सहजता प्रदान गर्नुपर्ने स्थानीयको माग छ। खास गरेर धरान वडा नं. २० मा शिक्षाको सहजताका निम्ति अहिले निर्वाचित जनप्रतिनिधीले उपलब्धीमूलक कार्य गर्नेमा विश्वास लागेको राजेन्द्र प्रसाद तामाङले बताउनुभयो ।
वडा नं. २० का अध्यक्ष पदम लिम्बुले विगतदेखिनै स्कुले बालबालिकाले भोगेको समस्या बारेमा आफु गम्भीर भएको जनाउदै समस्या समाधन गर्न आफु लागि पर्ने बताउनुभएको छ ।
धरान उपमहानगरपालिकामा २० वटा वडा छन् । अरु वडामा स्कुल विद्यार्थीलाई अध्ययन गर्न कुनै अहसज छैन । धरान वडा नं. २० मा मात्र असहज छ। धरानजस्तो गर्विलो इतिहास बोकेको ठाउँमा शिक्षाको समस्या खेप्नु परेको समस्याले विकासमा अवरोध पुग्न सक्छ ।
दीर्घकालिन विकास गर्न तय गरिएको नारा निरर्थक हुन सक्छ । जसले गर्दा धरानले अरु वडाजस्तै वडा नं. २० मा शिक्षा आर्जन गर्न सहजता प्रदान गरेर दीर्घकालिन लक्ष्य अनुसार निर्धारण गरेको नारा अवश्य पूरा हुनेछ । धरानको विकासको गतिमा उकालो यात्रा तय गरिनुपर्छ ।


