इटहरी । विराटनगरको आर्या न्यूरो अस्पतालले आश मारेर घर पठाइदिएको बिरामीलाई इटहरीको सामुदायिक अस्पतालले बोल्न सक्ने बनाएको छ । आर्याले ८ लाख रुपैया खर्च गराएपछि पनि निको हुन नसक्ने भन्दै घर पठाइदिएको बिरामी अहिले स्वस्थ व्यक्तिसरह बोल्ने र खाना खानसक्ने भएका हुन् । 

न्यूरोसम्बन्धि विशेषज्ञ सेवा दिने भनेर प्रचार गरिएको आर्या न्यूरो अस्पतालमा गत भदौ ३ गते इटहरी ४ का  दाहाललाई भर्ना गरिएको थियो । ब्रेन ह्यामरेज भएपछि भर्ना गरेर सोही दिन अपरेशन गरिएको थियो ।

अपरेशनपछि भेन्टिलेटरमा ६ दिनसम्म राख्दा पनि बिरामीको होस नआएपछि बाँच्ने सम्भावना नभएको भन्दै अस्पतालले घर पठाइदियो । ‘घरसम्म लान पनि सक्नुहुन्न, मुटुको ढुकढुकी कुनैपनि बेला बन्द हुनसक्छ भनेर अस्पतालले अक्सिजनको पाइपसहित पठाइदियो,’ उनका दाजु नगेन्द्रले भने, ‘हामीले पनि घरमा लगेर गाई दान गरी बाहिरै राखेर तुलसीको पानी खुवायौं ।’

लगत्तै दाहाल होसमा आए । ‘अस्पतालले होसमै आउँदैन, बाँच्दै बाँच्दैन भनेको बिरामी होसमा आएपछि सामुदायिक अस्पताल भर्ना गर्यौं,’ नगेन्द्रले भने ।

अहिले सामुदायिक अस्पतालमा उनको सामान्य उपचार भइरहेको छ । उनी खाना खान, बोल्न सक्ने भएका छन् । उनको देब्रे भाग पक्षघात भएर चल्न नसक्ने अवस्थामा छ । तर साससम्म थामिएकोमा परिवार खुसी छ । सँगै परशुरामको उपचार खर्च जुटाउने चुनौतिले भने पिरोलेको छ ।

आफन्त र साथीभाइले दिएको ऋण सापटी तथा सहयोगले जसोतसो आर्या अस्पतालको बिल तिरेर ल्याएपनि सामुदायिक अस्पतालको अढाइ लाख रुपैया उपचार खर्च कसरी तिर्ने भन्ने चुनौति छ । सामुदायिक अस्पतालले डिस्चार्ज दिन खोजिरहेपनि पैसा अभावले घर लान नसकेको नगेन्द्र बताउँछन् ।

सामान्य मजदुरी गरेर जिवीकोपार्जन गर्दै आएका परशुराम बिरामी भएपछि एकातिर परिवारको आयआर्जन गुमेको छ भने अर्कोतिर ऋण थपिएको छ । त्यती मात्र होइन, ब्रेन ह्यामरेजको अपरेशन गर्दा निकालिएको टाउकाको हड्डी फेरी अपरेशन गरेर राख्नको लागि थप खर्च लाग्ने भएको छ ।

त्यसो त परशुरामकी श्रीमतीको पनि हात भाच्चिएर राखेको रड परिवारले पैसाकै अभावमा निकाल्न सकेको छैन ।

बिरामीको आर्थिक अवस्था कमजोर रहेका कारण सहयोगका लागि आफूले पनि पहल गरिरहेको युवा नेता सुनिल कार्की बताउँछन् । ‘भएको सानो घडेरी र घर बेचेर उपचार गर्दा उठीबास नै लाग्ने अवस्था छ,’ उनी भन्छन्, ‘सबैको सानो सानो सहयोगले उपचार खर्चसम्म तिरियो भने राहत हुने थियो ।’