इटहरी । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले जालझेलको चुनाव सह्य नहुने बताएकी छिन् । इटहरीमा प्रेस चौतारीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेस नेता विजयकुमार गच्छदारलै सधैं जालझेल गतिविधि गरेर जित्ने गरेको बताउँदै यो पटक आफूहरु सबै घेराबन्दीहरुलाई तोड्ने गरी चुनावमा उत्रिएको बताएकी छिन् ।
‘पहिलो कुरा त मतदाताहरु आफै सचेत हुनुहुन्छ,’ उनले भनिन्, ‘त्यसमाथि हामीले पनि अलि कडा भएरै रणनीति अपनाएका छौं ।’
उनले अघिल्ला दुई वटा चुनावहरु गच्छदारले जालझेल गरेर जितेको र सो विषयमा मुद्धा पनि आफूले हालेको बताउँदै भनिन्, ‘अदालतले छिनोफानो गर्न ढिलो गर्यो, अब जनताले मलाई जिताएर न्याय दिनेछन् ।’
गच्छदारले चुनाव जित्नेबाहेक केही काम नगरेको उनको आरोप थियो । उनले विगतमा गच्छदारले आफ्नो ठाउँको विकासको लागि केही काम नगरेको बताउँदै भनिन्, ‘त्यती काम त वडाध्यक्ष भएर गर्न सकिन्छ, संघीय सांसद र मन्त्रीले चाहे भने आफ्नो ठाउँको विकासको लागि धेरै काम गर्न सक्छन् ।’
उनले आफू लामो समयदेखि स्थानीय जनताको बिचमा रहेको र लघुवित्तमार्फत् स्थानीयहरुलाई सहयोग गर्दै दुःखसुखमा साथी बनेको कारणले पनि यो पटक आफूले जित्ने विश्वास गरिन् । उनले आफूसँग आफ्नो क्षेत्र विकास गर्ने ऐजेण्डा रहेको बताउँदै आफूले जितेमा सबैलाई मिलाएर लाने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र नं. ३ (क) का उम्मेदवार रोहित कार्कीले मतदाताहरु राजनीतिक दलहरुबाट निराश रहेको बताउँदै आफूले आशाको सञ्चार गर्ने गरी काम गर्ने चुनौति रहेको बताए । ‘हामीले अब ठोस एजेन्डासहित हाम्रो ठाउँको विकास र सही राजनीतिक संस्कारको योजना बनाउनुपर्ने देखिन्छ,’ उनले भने, ‘हामी अब विकासको दिशामा अघि बढ्नेछौं ।’
कार्यक्रममा समानुपातिक उम्मेदवार मीना श्रेष्ठलेसमेत निर्वाचन क्षेत्र नं. ३ मा बारम्बार धाँधली गरेर गच्छदारले चुनाव जित्ने गरेको बताउँदै यो पटक भने आफूहरुले प्रतिरोध गर्ने बताइन् । ‘अब पहिलाजस्तो लटरपटर पारेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ, जनता आफै सचेत छन्, हामी पनि यो पटक सशक्त तरिकाले उत्रिन्छौं,’ उनले भनिन् ।


