इटहरी । बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीले आफ्नो २५ औ रजत जयन्ती समारोह सम्पन्न गरेको छ । जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ ।
तमु ह्योला छोंजधिं प्रदेश १ का सदस्य केशरमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ७० वर्षभन्दा माथिका ३९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले सम्मान पत्र प्रदान गदै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

बुद्ध गुम्बा इटहरी तमु सेवा समिति इटहरीका अध्यक्ष धन बहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरूले रजत जयन्तीको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष घलेले इटहरीमा रहेर यस समितिले धार्मिक तथा सामाजिक कार्यहरू गदै आएको अब युवा पुस्ताले समेत आफ्नो धर्म संस्कृति यसरी नै अघि बढाउनु पर्ने धारणा राखे ।

प्रमुख अतिथि केशरमान गुरुङले गुरुङ समुदायको भाषा र संस्कृति जगेर्ना गर्न सबै एक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तमु ह्योला छोंजधि केन्द्रीय सदस्य बकस मान गुरुङ , तमु ह्योला छोंजधि महिला केन्द्रीय उपादक्ष सिला कुमारी गुरुङ, सुनसरी क्षेत्र नं. ३ क की प्रदेश सभा सदस्य उम्मेदवार सरस्वती पोखरेल, तमु ह्योला छोंजधि सुनसरी अध्यक्ष धिरज गुरुङ, समाजसेवी गोपाल प्रसाद पराजुली, निरु चौधरी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजक हेमा गुरुङ ले गरेकी थिइन ।



