इटहरी : इटहरीमा छिमेकीबाटै १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । इटहरी उपमहानगरपालिका वडा नं. १९ ब्रह्मपुरकी बालिकालाई छिमेकीले कोही नभएको मौका छोपेर बलात्कार गरेका हुन् ।

आमा–बाबू नै घरमा नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५५ वर्षीय खेमराज गिरीलाई पक्राउ गरेको छ ।

पीडित परिवारका अनुसार गिरीले घरमा कोही नभएको समयमा घरको कोठाभित्रै आएर चुकुल लगाई बलात्कार गरेका हुन् ।

उनले मंसिर १८ गते आइतबार साँझ करीब ६ बजेतिर बालिकाको कोठामै गएर बलात्कार गरेको पीडितले जनाएका छन् । घरमा एक्लै रहेकी बालिकाले बाख्रा र कुखुरा खोरमा थुन्ने क्रममा गिरी घरको कोठाभित्र पसेको स्थानीयले जनाएका छन् ।

‘कोठाभित्र पसेपछि चुकुल लगाएर बलात्कार गरेछन्, पछि कोठाबाहिर निस्किएपछि पुनः कोठाभित्र पस्न खोज्दा बालिका चिच्याइरहेको अवस्थामा सुन्यौँ,’ एक स्थानीयले भने, ‘त्यसपछि सबै मानिस भेला हुँदा ती व्यक्तिलाई घर कोठाबाहिरै फेला पारेर प्रहरीलाई जिम्मा लगाएका हौँ ।’