
बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै अनिश्चितकालीन धर्ना र रिले अनसनमा बसिरहेका आन्दोलनकारीहरूले आइतबार माइतीघर मण्डलामा लालटिन बालेर प्रदर्शन गरेका छन् ।
आज तेस्रो चरणको आन्दोलन अन्तर्गत लालटिन बालेर सरकारको खोजी गरिएको छ । घटना छानबिन गर्न आनाकानी गरिएको भन्दै साङ्केतिक रूपमा सरकारको विरोध गरिएको हो ।
प्रदर्शनमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियान्ताहरु विमल अर्याल, निर्घ नवीनलगायतको उपस्थिति रहेको थियो ।
पौष १४ गतेदेखि तेस्रो चरणको आन्दोलनको घोषणा गरेको महिला अधिकार मञ्च बाँकेले हरेक दिन बिहान ९ बजे कलंकीदेखि माइतीघरसम्म पैदल नै आएर साँझ ५ बजेसम्म प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेको जनाईएको छ ।


