दुई सातादेखि शीतलहरले सुनसरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम इनरुवा मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । 


दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् । बारी र  खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको किसानले बताएका छन् । 

चिसोकै कारण इनरुवासहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ । यातयातका साधन न्यून रुपमा चल्न थालेका छन् ।  बजारमा बाक्लो ऊनी कपडाको बिक्री भने ह्वात्तै बढेको ब्यापारीले बताएका छन् । चिसोकै कारण हाट बजारमा किनमेल गर्न आउनेको सङ्ख्या घटेको छ । चिसोकै कारण जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढेको चिकित्सक बताउँछन् । सुनसरीका गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खर पातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन् । 

जाडोबाट जोगाउन सवै पालिकाले गाउँ बस्तीमा सर्वसाधारणलाई ताप्नका लागि ठाउँठाउँमा दाउराको व्यवस्था गरेका छन् ।  गरिब दलित बस्तीमा दाउरा बाल्ने, तातो पानी र चिया दिने काम गरिरहेको छ ।दिन प्रतिदिन जिल्लाको  विद्यालयको पठनपाठन पनि बन्द गरिएको छ ।