बिराटनगर/ नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश १ सरकारका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६जना बिना बिभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको हो।
मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै नौवटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरूले जिम्मेवारी पाएका हुन्। अव प्रदेश १ सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ।
यसअघिका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय खारेज भएका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राख्नुभएको छ।
यसैगरी नेकपा एमालेका तिलकुमार मेन्याङ्बोलाई खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यस्तै नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईंले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अनि प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई जीवन आचार्यले पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसैगरी राप्रपाका भक्तिप्रसाद सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउँदा जसपाकी एक्ली सांसद निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।


