नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कमिटीका अध्यक्ष टिका पराजुलीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी परित्याग गर्नुअघि माओवादी केन्द्रको इटहरी नगर सचिवालय सदस्यसमेत रहेका पराजुलीले नेकपा माओवादी केन्द्रमा रही राजनीति गरेर जनताले चाहेको परिवर्तन र समाजवादको गन्तव्य प्राप्त गर्न नसकिने भएकाले सो पार्टी आफूले परित्याग गरेको उनले एक विज्ञप्ति जारी गरी बताएका छन् ।
नेकपा एमालेले अख्तियार गरेको जनताको बहुदलीय जनवादको सिद्धान्त अनुसरण गरी सो लक्ष्यमा पुग्न सकिने प्रशस्त सम्भावना रहेकाले आफू एमालेमा आबद्ध भएको उनको जिकिर छ । जनताको मुक्ति, जनजीविका, अधिकार प्राप्ति र समाजवाद निर्माणका लागि स्पष्ट विचार, दृष्टिकोण र सिद्धान्त भएको पार्टी नेकपा एमाले मात्र भएको पराजुलीको ठहर छ ।
आफूले ०४८ सालमा नेकपा एमालेकै भ्रातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेको बताउँदै उनले आगामी दिनमा सोही पार्टीको मार्गदर्शक सिद्धान्तअनुरुप राजनीतिक यात्रा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।



