धनकुटा । आयोजकले टिकटविनाकालाई कार्यक्रमस्थल छिर्न नदिँदा दर्शकको भागदौड मच्चिएको थियो । गायक प्रमोद खरेलले गीत गाइरहँदा गेटमा ठेलमठेल भीडमा च्यापिएकामध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको र केहि घाइतेलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाकी निमित्त प्रमुख ममता सुवेदीले घटनाको क्षति विवरण संकलन भइरहेको जानकारी दिइन् । उनले दर्जन बढी घाइते भएको भन्ने सूचना आएको बताइन् ।
प्रहरी कार्यालयले धनकुटा महोत्सवमा घाइते भएका सबै खतरामुक्त रहेको बताएका छन् ।
सांगितिक कार्यक्रमम सकिएपछि बिङ्गो खेलमा भने नि:शुल्क रूपमा प्रवेश पाउने आशामा महोत्सवस्थलको गेटमा सर्वसाधारणको भीड बढेको थियो । तर, आयोजकले गेट नखोलेपछि गेटमै झडप भएको भागदौड मच्चिएको बताइएको छ ।


