इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसङ्गै प्रचारप्रसारको क्रम तीव्र भएको छ ।
संघको अध्यक्षका लागि पीताम्बर पोख्रेल, जीवन पराजुली, गायत्री कटुवाल भण्डारी, रञ्जु सिग्देल चौलागाई र मणिन्द्र कटुवालले उम्मेदवारी दिएका छन् । पराजुली, भण्डारी र चौलागाईको प्यानल छ भने अन्यले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गायत्री नेतृत्वको प्यानललाई काँग्रेस नगर सभापती हेमकर्ण पौडेलले विज्ञप्ती नै जारी गरी जिताउन आग्रह गरेका छन् भने पराजुलीलाई संघका वर्तमान अध्यक्ष भीम पौडेललगायतको समर्थन रहेको छ । नेपाली काँग्रेस नेतृत्वले प्रयास गरेपनि एक उम्मेदवार र एउटै प्यानल बनाउन नसक्दा काँग्रेस निकट व्यवशायी विभाजित बनेका हुन् ।
यता, नेकपा एमालेनिकट व्यवसायी रन्जु सिग्देल पनि प्यानल नै बनाएर अध्यक्षकै उम्मेदवार बनेकी छन् । लिलम बस्नेत, शैलेश बिष्ट, उमेश पौडेल, टङ्क खनाल लगायतका व्यवसायीको समुहले रन्जुको प्यानललाई समर्थन गरेको छ । यद्यपि, नेकपा एमालेले भने यो चुनाब व्यवसायीको भएकोले पार्टी ले सहयोग र सहकार्य गर्ने तर हस्तक्षेप नगर्ने बताएको छ ।
नेपाली काङ्ग्रेसका उम्मेदवारहरुबीच हुन लागेको आपसी तछाडमछाडले चुनावी नतिजा विपक्षीको पोल्टामा पर्न सक्ने केही व्यवसायीहरुको प्रक्षेपण छ । त्यसमा भीम पौडेलको अघिल्लो कार्यकालको निराशाजनक गतिविधि पनि एउटा कारक हो । पौडेलले प्रभवकारी काम गर्न नसकेको आरोप व्यवशायीहरुको छ ।
गायत्री कटुवाल व्यापारमा निरन्तर रूपमा लागेको मान्छे संघको नेतृत्वमा पुग्दा व्यवसायीको हित सुनिश्चित हुन सक्ने धारणा राख्छ्न् ि। राजश्व वा करमा करदातालाई मर्का नपर्नेगरी नीतिगत व्यवस्था मिलाउने पहल गर्न सक्षम व्यक्तिको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
अधिकांश व्यवशायीहरुले वर्तमान आकाङ्क्षीमध्ये सिग्देल वा पराजुलीलाई रुचाएको एक सर्वेक्षणले देखाएको छ । त्यसमा पनि काँग्रेसको फुट, पार्टीगत हस्तक्षेप अनि पौडेल नेतृत्वको अघिल्लो कार्यकालको फितलो कार्यप्रगतीका कारण सिग्देललाई अधिकांश व्यवशायीको सहानुभुती मत देखिएको छ ।
इटहरीकै एक भाडा पसलका संचालकले व्यवसाय र व्यवसायीको हितका लागि नभई संघको स्थापना र सन्चालन व्यक्तिको राजनीतिक स्वार्थ पूर्तिका लागि भएको भन्दै उनले जसको नेतृत्व आएपनी व्यवसायीका समस्या समाधान नहुने गरेको तीतो अनुभव सुनाए । उनले केही समययताको कार्यकाल उत्साहजनक नभएको आरोप लगाए ।
बजार व्यवस्थापनमा संघले उदासिनता देखाएको, बजार बन्द गर्ने दिन निर्धारण गर्न नसकेको, घरवहाल कर, राजश्व आदिका नाममा दोहोरो, तेहरो करको मारमा परेका व्यवसायीको समस्यामा संघले मौनता साँधेको जस्ता आरोप अहिलेको पौडेल नेतृत्वको समितिमाथि छ ।
बैंकको चर्को ब्याज असुलीविरुद्ध कदम नचालेको, होसलेल र रिटेल व्यवसायीबीचको विवाद निरुपण गर्नमा संघको नगन्य तदारुकताजस्ता कारणले संघको चुनावमा व्यवसायीको चासो नै कम हुन पुगेको कतिपय व्यवसायीहरूको असन्तुष्टिपूर्ण धारणा छ । अन्यत्र उद्योग वाणिज्य संघले राम्रो काम गरिरहेपनि इटहरीमा भने संघ स्वार्थमा लिप्त भएको व्यवशायीहरु बताउँछन् । प्रायः सबै उम्मेदवार पहिले नै अवसर पाएर असफल भैसकेकाले परिवर्तनको अपेक्षा पूरा हुने सम्भावना क्षीण रहेकोे मतदाताहरुको मनोविज्ञान रहेको पाइन्छ ।
आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि होटल व्यवसायी संघलाई दुई टुक्रामा विभाजन गरेर अध्यक्षको कुर्सीमा बसिरहेका पराजुलीलाई परिवारवाद हावि भएको समेत आरोप लाग्ने गरेको छ ।
राजनीतिक दल एमालेमा कुनै निर्वाचित पद पाउन नसकेपछि उद्योग वाणिज्य संघलाई पोलिटिकल सेल्टर बनाउने दाउमा रन्जु रहेको आरोप एकाथरी व्यवशायीहरुको छ भने संघको वर्तमान नेतृत्वमै रहेर पनि व्यवसायीको अपेक्षाअनुरुप काम गर्न नसकेको र एक पटक अध्यक्ष बन्नकै लागि लागिपरेको आरोप कट्वालमाथि लागेको छ ।
त्यसैले यी तीन मध्ये कसको भाग्री बलियो साबित होला भन्ने प्रश्नको जवाफ आगामी २८ गते सम्पन्न हुने निर्वाचनको मतपेटिकामा खस्ने करिब पाँच हजार मतदाताको मतको भारले निर्धारण गर्नेछ ।


