सुनसरी/ मिस नेपाल–२०२३ को प्रादेशिक अडिसन शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ। देशव्यापी अभियानअन्तर्गत आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले गरेको इटहरी अडिसनमा २५ जना सहभागी भएका संयोजक स्मित कार्कीले जनाए । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका क्रममा मिस नेपालको टोली बिहीबार इटहरी आइपुगेको थियो ।
टोलीमा मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र इटहरी संयोजक कार्की सहभागी थिए । मिस नेपाल प्रियंकारानी जोशी भने इटहरी अडिसनमा उपस्थित भएकी थिइनन् । फागुन ५ मा मधेस प्रदेशको वीरगन्जमा अडिसन हुनेछ । त्यसपछि पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र काठमाडौं अडिसन गरिने हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले बताए । इटहरी अडिसनमा छुटेकाले काठमाडौं अडिसनमा समेत सहभागिता जनाउन मौका पाउने उनले जनाए।
सातै प्रदेशको अडिसन सकिएपछि छनोट भएका प्रतिस्पर्धीहरू समेटेर जेठ १३ मा ललितपुरको गोदावरीमा मिस नेपाल–२०२३ को ग्य्रान्ड फिनाले हुनेछ । देशव्यापी पहुँच पुर्याउनका लागि अघिल्लो संस्करणदेखि क्षेत्रीय अडिसन सुरु गरिएको राजकर्णिकारले बताए ।

