धरान । २३ औं बुढासुब्बा गोल्डकप फागुन १३ गतेदेखि धरानमा हुने भएकाे छ । धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो ।
कोभिड महामारीको कारण आर्थिक संकटबाट गुज्रिएकाे क्लबले २ वर्षयता प्रतियोगिता नै गर्न सकेकाे थिएन । २०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २०७६ यता हुन सकेको छैन । आर्थिक अभावले २२ औं संस्करणका विजेता तथा उप विजेताको पुरस्कार समेत केही दिन अगाडी मात्र दिएको क्लबले २३ औं संस्करणकाे प्रतियाेगिता भने भब्य हुने बताएकाे छ ।
यसपटककाे प्रतियाेगितामा नेपालका ए डिभिजन क्लबबाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने क्लबका अध्यक्ष किशाेर राईले बताए । प्रतियोगितामा पुलिससँगै आयोजक, दुई विदेशी टिम एभेनियर एफसी क्यामरुन, केबिपिएस वंगलादेश, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा, एन्फा मोरङको सहभागिता रहने भनिएकाे छ ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउने क्लबले जनाएकाे छ । विगतमा मोटरसाइकल दिदै आएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यो पटक भने नगद १ लाख दिइने भनिएकाे छ ।
बिधागत उत्कृष्टलाई जनही २५ हजार पुरस्कार दिइनेछ । म्यान अफ दि म्याचलाई १० हजार पाउने र सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने बताइएको छ ।



