इनरुवा/ प्रजातन्त्र दिवसको अवसर पारेर ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव प्रदेश १’ सुनसरी सदरमुकाम इनरुवामा आइतबारबाट सुरुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदिको प्रमुख आतिथ्यता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सभापतित्वमा औपचारिक कार्यक्रम गरि सुभारम्भ गरिएमो हो । औपचारिक कार्यक्रमअघि भगवती स्कुलदेखि महोत्सव स्थल शान्ति चोक सम्म विभिन्न जातजातिको झाकी सहितको र्याली गरिएको थियो । महोत्सवको समुद्घाटन कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुरु भएको महोत्सव आयोजकले इनरुवाको स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउनेहरुको परिवारलाई सम्मान पत्र समेत हस्तान्तरण गरेको थियो ।
त्यसैगरि आजबाटै प्रदेश १ मा बनेका लामो तथा छोटो चलचित्रहरु पनि प्रदर्शन सुरु भएको छ । महोत्सव आयोजकको योजना अन्तर्गत नै इनरुवामा अवस्थीत सिबि सिनेमा हलमा फिल्म प्रदर्शन हुनेछ । प्रदर्शनका लागि १८ ओटा फिल्म दर्ता भएको चलचित्र संयोजक भीषण राईले बताए । फागुनको १७ गते सम्म संचालन हुने महोत्सवलाई इनरुवा नगरपालिकाले संयोजन गरेको छ । प्रतिभा प्रवर्द्धन तथा स्थानिय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्य समेत यो महोत्सवको भएका कारण बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिताको समेत महोत्सव अवधिमा आयोजना गरिने आयोजक ले बताएको छ ।

