इटहरी \ जातीय पहिचान सहितको प्रदेशको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका पहिचान पक्षधर जातीय समूहले आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह संगठीत भएर आन्दोलन चर्काउने घोषणा गरेका हुन् । विगतमा किरात, लिम्बुवान, कोचिला लगायतका राज्य माग गरेर थुप्रै सडक आन्दोलन भएका थिए । आन्दोलनको मर्म विपरीत र ऐतिहासिक आधारमा उठाएको राजनीतिक आन्दोलनका बिपरीत कोशी प्रदेश नामाकरण गरिएकोमा १३ वटा जातीय समूहले आन्दोलन चर्काउने घोषण गरेका हुन् ।
किरात राई यायोक्खा, नेपाल शेर्पा संघ, नेपाल आदिवासी जनजाति महासंघ, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लिम्बुवान पार्टी, किरात मोर्चा, लोसपा लिम्बुवान राष्ट्रिय समिति, समाजवादी किरात संघलगायतले चैत ५ गतेसम्मका आन्दोलनका कार्यक्रम शनिबार इटहरीमा पत्रकार सम्मेलन गरि घोषण गरे ।
चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गरेपछि थप कार्यक्रम घोषणा गरिनेछ । आन्दोलनका कार्यक्रम अन्तर्गत नै फागुन २८ गते कोशी प्रदेशमा आमहड्ताल आह्वान गरिएको छ। आन्दोलन घोषणाका क्रममा किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय अध्यक्ष प्रेम येक्तेनलले कोशी प्रदेशको नामाकरण खारेज नभए नराम्रो परिणम निम्तिने चेतावनी दिनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शर्पाले कोशी प्रदेशको नामाकरण पञ्चायतको पुर्नरावृत्तिको रुपमा नामाकरण भएको र शासक वर्गको अनुकुल नाम भएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । पत्रकार सम्मेलनमा किरात धर्म तथा साहित्य उथ्थान समितिका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिमले छापामार शैलीमा एकल पहिचान आधारमा नामाकरण गरिएकाले गर्दा पुनः नामाकरण गर्नुको विकल्प नभएको बताउनुभयो । पुनः नामाकरण नहुन्जेलसम्म निरन्तर आन्दोलन गरिरहने पनि उहाले बताउनुभयो । यही फागुन १७ गते बसेको प्रदेश सभा बैठकबाट प्रदेश १ को नामकरण कोशी प्रदेश राख्ने निर्णय गरेको थियो ।


