न्युस्टार क्लब वराहक्षेत्रको आयोजनामा हुने वराहक्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता  अन्तर्राष्ट्रिय भरौल गोल्डकपको छैठौं संस्करण आगामी चैत्र १५ देखि सुरु हुने भएको छ ।

फुटबल खेलको उर्वर भूमि भरौलस्थित जगन्नाथ डेडराज जनता माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा भारतका दुई टोलीसहित ८ टिमले सहभागिता जनाउने तय भएको छ ।

सोमबार खेलमैदानस्थित न्युस्टार क्लबको भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । प्रतियोगितामा सिलिगुडी भारतको कन्चनजङ्घा एफसी, दार्जिलिङको जनमूक्त परिवारसहित राष्ट्रिय जागृति क्लब इटहरी, एन्फा मोरङ, क्षमादेवी प्लानिङ बोइज युनाइटेड काठमाडौ, डिवाइन बोइज युनियन काठमाडौ, केबीए ग्लोबल भरतपुर एफसी र आयोजक न्युस्टार क्लबबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलका उत्कृष्ट खेलाडी म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Tie sheet Bharaul gold cup


उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, गोलकर्ता, प्रशिक्षक र उदयीमान खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

उल्लेखीय राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भरौलबाट राष्ट्रिय खेलाडीका रुपमा हरि ठकुरी, श्याम माली, टङ्क बस्नेतजस्ता खेलाडीले पहिचान बनाइसकेका छन् ।

'फुटबल खेलाडीहरुको उर्वर भूमि हो यो, यो भूमिलाई थप मलिलो बनाउन र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हामीले  पहल प्रयत्न गरिरहेका छौं', वराहक्षेत्र ५ का वडाध्यक्ष तथा अन्तर्राष्ट्रिय भरौल गोल्डकपका संयोजक रोहित काफ्लेले भने, 'खेलकुदमा विनियोजित बजेटको ५० प्रतिशत बजेट गोल्डकपका लागि छुट्याएको छु ।'
प्रतियोगिता सयोजक तथा वडाध्यक्ष काफ्लेले खेलकुद समितिबाटसमेत बजेट विनियोजन गर्न पहल गरेको बताए । उनले विगतमा जेजस्तो भए पनि वैशाख ५ भित्र प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरे ।
विगतका संस्करणहरुमा नगर प्रमुखले प्रतियोगिताको उद्घाटन गर्ने गरेको भए पनि यो पटक प्रदेशका सामाजिक विकास मन्त्री वुद्धिकुमार राजभण्डारीले उद्घाटन गर्ने छन् ।

प्रतियोगिताको टिकट दर ५० रुपैयाँ राखिएको छ भने फाइनल खेलमा १ सय रुपैयाँ तोकिएको छ ।