धरानः भोलि  शनिबार धरानमा कोकाहा खानेपानीको लागि  सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ ।
धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । ‘पूर्वमै पहिलोपल्ट यस्तो स्टेज बनाउँदैछौं कि जुन कार्यक्रमका लागि पनि भव्य हुनेछ’, उनले भने, ‘अहिले स्टेज निर्माण, सरसफाइ लगायतका कार्यक्रम चलिरहेको छ ।’
उनका अनुसार कन्सर्टको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । राष्ट्रियस्तरका आधा कलाकार आजै धरान आइसकेका छन्  भने आधा कलाकार भोलि धरान आउने उनले जानकारी दिए । उनका अनुसार आजै राजेशपायल राई, एकदेव लिम्बू लगायतको कलाकारको उपस्थिति हुनेछ ।
कोकाहा खानेपानीको लागि धरानमा च्यारिटी कन्सर्ट हुन लागेको हो । कन्सर्टमा चर्चित एवं वरिष्ठ गायक दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, एकदेव लिम्बू, एपी शेर्पा, डिल्ली फोम्बो, रोहित मास्के र वाकिङ क्लाउण्ड ब्याण्डको पनि प्रस्तुति हुनेछ । यो कन्सर्टको लागि यी सबै कलाकारहरुले पारिश्रमिक पनि नलिने पनि घोषणा गरिसकेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले यो कन्सर्ट अलि फरक हुने बताए । कन्सर्टबाट उठेको रकमले कोकाहा खानेपानीको लागि आवश्यक पर्ने पाइप खरिद गरिने बताए । उनका अनुसार पाइपका लागि मात्रै करिब तीन करोड बढी खर्च हुने अनुमान छ । कन्सर्टबाट करिब ५० लाख बढी रकम उठ्ने अनुमान गरिएको छ ।
कन्सर्टकी संयोजक, समाजसेवी एवं गीतकार मीना सिंगकले खानेपानी योजनाको लागि भएकोले सबैलाई सहयोग गरिदिन आग्रह गरिन् । उनका अनुसार कन्सर्टकै लागि हङकङबाट १० लाख बढी आइसकेको छ ।
कन्सर्टको लागि नर्मल २ सय, ५ सय, १ हजार र भिआइपी टिकट ७ हजार १२१ (एउटा पाइप बराबर) को रहेको छ । कन्सर्टकै दिन गेटमा ३ सय रुपैयाँको टिकट बिक्री हुने आयोजकले जनाएको छ ।
मेयरमा निर्वाचित साम्पाङले श्रमदान अभियानमार्फत् पानी जोहो गर्न मरिहत्ते गरिरहेका छन् । कोकाह प्रोजेक्ट एउटा सफल प्रोजेक्टका रुपमा लिइएको उनले जानकारी दिए । उनका अनुसार कोकाहको पानी धरान आइपुगे ९० प्रतिशत धरानको खानेपानी समस्याको हल हुनसक्छ । यो अभियानका लागि अहिले पनि आर्थिक सहयोग जुट्नुका साथै र श्रमदान चलिरहेको छ ।