धरान : सहिद लाजेहाङको शवयात्रा विराटनगर पुग्दा प्रहरीले गरेका अश्रुग्याँस प्रहारबाट किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन र किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष देवन राई सहित ६ जना घाइते भएका छन् ।
नेपालमा सङ्घीयता आएपछि पहिचान सहितको प्रदेश नामकरणको आन्दोलनमा पहिलो सहिद लाजेहाङ पदमकुमार लिम्बुको शव एक महिना पछि सम्मानपूर्वक अन्त्येष्टि गर्न आज भएको शवयात्रामा सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेको हो ।
धरान, इटहरी, विराटनगर हुँदै बेलबारी लालभित्ति पुर्याउने शवयात्रा विराटनगर रोडशेष चौकमा श्रद्धाञ्जली सभाका लागि पुग्दा सुरक्षाकर्मीले निषेधित क्षेत्र भन्दै दर्जनौँ अश्रुग्याँस प्रहार गरेको छ । अश्रुग्याँस प्रहारबाट चुम्लुङ केन्द्रीय अध्यक्ष येक्तेन, यायोख्खा केन्द्रीय उपाध्यक्ष देवन सहित चन्द्रकुमार राई, राजकुमार शेर्मा, डिनिज राई, सन्तकुमार राई घाइते भएका छन् । 
घाइतेहरूको विराटनगर स्थित अस्पतालमा उपचार भई रहको छ । शवयात्राको वृहत् सहभागीहरू माथि भएको अश्रुग्याँस प्रहारबाट थुप्रै घाइते भएका छन् । उनीहरूको नाम यकिन हुन नसकेको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
यसअघि आज शनिवार बिहान शवयात्राले धरान बजार परिक्रमा गरी भानुचौकमा श्रद्धाञ्जली सभा भयो । सभाअघि सहिद लाजेहाङको पार्थिव शरीरमा सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन सहित पहिचानवादी सङ्गठनहरू किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, तामाङ घेदुङ सङ्घ जातीय सङ्गठनले झन्डा, माला अर्पण गरेका थिए ।
342354039_722530366315186_5160425398313859005_n
सभामा नेकपा माओवादी सम्बद्ध लिम्बुवान मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष मुक्साहाङ मेन्याङबोले पहिचान र सभ्यताको आधारमा राखिएको नाम मात्र मान्य हुने बताउँदै भने ‘अन्यथा कोशी नाम खारेजी पूनःनामाकरणको आन्दोलन थप सशक्त रूपमा अघि बढ्ने छ ।’
सहिद लाजेहाङको बलिदान खेर नजाने बताउँदै मेन्याङबोले आन्दोलनकै कारण अहिले प्रदेश भरीका गाउँपालिका र नगरपालिकामा कोशी नामको लेटरप्याड प्रयोगमा आउन नसेको, अस्वीकार गरेको बताउँदै भने ‘जनताको म्यान्डेटबाट राखिएको नामाङ्कन मात्र दिगो हुने बुझ्न जरुरी छ ।’ 
प्रदेश सरकारलाई कान, आँखा खोलेर जनतातिर फर्केर हेर्न आग्रह गर्दै उनले जनताको भावना अनुरूप भुगोलमा प्रयोग भएको हावा पानी माटोको आधारमा नामकरण गर्न वार्ता र छलफलको वातावरण तयार गरी पूनःनामाकरन गर्न आग्रह गरे ।
संयुक्त सङ्घर्ष समितिका अध्यक्ष डकेन्द्र थेबेले प्रदेश नामकरण पुन गरियोस् भन्दै जनताको भावना समेट्न आग्रह गरे । उनले लाजेहाङ जस्ता सहिद अरू पनि हुन नपरोस् भन्दै कोशी नामकरण खारेज नभए सम्म आन्दोलन नरोकिने बताए ।
शिल्पी समुदायका नेता दलमर्दन  कामिले नाश्ववादी राज्य सत्ताले जनताको भावना कुण्ठित गरेको बताउँदै नाश्लबादले जनताको भलो नगर्ने जबरजस्ती लादिएको प्रदेशको नाम उखेलेर फाल्न आन्दोलन थप सशक्त बनाउन आव्हान गरे ।
उनले भने ‘लाजेहाङको पार्थिव शरीरले अबको केही दिन भित्र लिम्बुवान किरात राज्य घोषणा गर्ने निश्चित ।’ नाश्वलबादी राज्य सत्ताले पहिचान र सघियता दबाउन खोजेता पनि सहिद लाजेहाङले देखाएको बाटोले पूर्णता पाउनेमा सबै विश्वस्त हुन आग्रह गरे । सभामा सुनुवार समाज धरान अध्यक्ष ऐसा सुनुवारले आन्दोलनमा महिलाअरु पनि साथ साथ रहेको बताइन् ।