कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघले लगेकी महिला अझै भेटिएकी छैनन् । शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन् ।

शुक्रबार दिनभर प्रहरी र स्थानीयले खोजी गरे पनि उनी फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए ।

शुक्रबार बिहान ११ बजेतिर चार-पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो । ‘हामीले दिनभर खोजी गरे पनि फेला पार्न सकेका छैनौँ’, प्रवक्ता डाँगीले भने ।