इटहरी । द भ्वाइस किड्सको फाइनलिस्ट बनेका इटहरीका रिजन डाँगी यतिखेर भोट माग्न व्यस्त छन् । परिवार र साथीहरु अनि इटहरीका संगीतकर्मीहरुको सहयोगमा उनले इटहरी र आसपासका शहरहरुमा पुगेर प्रस्तुती दिँदै भोट मागेका हुन् ।
शुक्रबार हुने नतिजा प्रकाशनमा भोटिङकै कारण हार्नु नपरोस् भनेर उनका प्रसंशकहरुले उनलाई जिताउन अभियान थालेका छन् । सो क्रममा इटहरीका विभिन्न स्कुलहरुमा उनले प्रस्तुती दिएका छन् । इटहरीको पुर्वी पृतना मुख्यालय पुगेरसमेत भोट मागेका छन् । पृतनापती आशबहादुर तामाङ्गलगायत सेनाका अधिकारीहरुले उनलाई सहयोग गर्ने आश्वासन दिएका छन् ।
‘ट्यालेन्टका कारण रिजनले हार्दैन, अन्तर्राष्ट्रिय स्तरमा जाने प्रतिभा हो,’ इटहरीका संगीतकर्मी राजु केसीले भने, ‘तर भोटिङ उसको हातमा नभएकोले सबैसँग सहयोग मागिरहेका छौं ।’
रिजनले प्रतियोगिताको पहिलो एपिसोडमा दिएको प्रस्तुती नै लोेकप्रिय भएको थियो । चारै जना जजले कुर्सी घुमाएका थिए ।

