धरान । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा धरानमा पत्रकारहरुले मौन जुलुस निकालेका छन् ।

धरानको भानुचोकबाट शुरु भएको जुलुस छाताचोक हुँदै धरान उपमहानगरपालिकाको गेटमा पुगेर समापन भएको थियो ।

‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘स्वतन्त्रतापूर्वक बोल्न र लेख्न देऊ’ जस्ता नारा लेखिएका प्लेकार्डसहित पत्रकारहरु जुलुसमा सहभागी भएका थिए ।

पत्रकारहरुसँगै विभिन्न राजनीतिक दलका नेताहरुले जुलुसमा ऐक्यबद्धता जनाएका थिए ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धरानका मेयर हर्क साम्पाङले पत्रकारहरुप्रति धावा बोलिरहेको र पछिल्लो समय सामाजिक सञ्जालमार्फत् ‘सुरक्षा थ्रेट’ समेत भएकाले आन्दोलनमा उत्रनुपरेको बताए । अग्रज पत्रकार हर्ष सुब्बाले स्थानीय सरकारले सञ्चारमाध्यम र पत्रकारहरुको हितको लागि प्रतिबद्धता जनाउनु पर्नेमा त्यसविपरीत कार्य भएको बताए ।

मेयर साम्पाङले निरन्तर पत्रकार तथा सञ्चारमाध्यममाथि प्रहार गर्दै गालीगलौज गरेको कारण ४ दिनदेखि सुनसरीका पत्रकार आन्दोलित छन् ।