बारा । बारा जिल्लाका एक वडाध्यक्षले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा आफ्ना बुवाको तस्वीर झुण्ड्याएका छन् । जीतपुर सिमरा उपमहानगर वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिरको ठाउँमा आफ्ना स्वर्गीय पिता सत्यनारायण गुप्ताको तस्बिर झुन्डाएका हुन् ।
नेपाल सरकार मातहत रहेका कार्यालयमा राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर झुन्डाउने प्रचलन छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको १ वर्ष बितेपनि एमालेबाट निर्वाचित भएका वडाध्यक्ष गुप्ताले आफ्नो कार्यकक्षमा निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीको तस्वीर नै झुण्ड्याइरहेका छन् भने सँगै आफ्ना बुवाको तस्वीर राखेका छन् ।
वडाध्यक्ष गुप्ताले बहालवाला राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर उपमहानगरसँग मागे पनि हालसम्म नपाएकोले तस्वीर राख्न नपाएको बताए।
जनप्रतिनिधिले आफ्नो कार्यकक्षमा परिवारको निजी तस्बिर राखेपछि उपमहानगरले भने असन्तुष्टी जनाएको छ । जीतपुर सिमरा उपमहानगरका प्रशासकीय प्रमुख हरिलाल पुरीले भने वडाध्यक्ष गुप्ताले तस्वीर नै नमागेको बताए ।


