सुनसरी - मदन भण्डारी फाउन्डेसन कोसी प्रदेश समितिले प्रदेश नामाकरणलाई लिएर भइरहेको आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले समाधान खोज्न सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । फाउन्डेसनको सुनसरीको इटहरीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशन पश्चात् जारी गरिएको इटहरी घोषणापत्र मार्फत वार्ता र संवाद मार्फत समाधानको बाटो अवलम्बन गर्न सम्बद्ध सबै पक्षसँग माग गरिएको छ ।
इटहरी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका प्रदेश उपाध्यक्ष एवंम प्रदेशसभा सदस्य विजय राईले दुई तिहाइ बहुमतबाट कायम गरिएको नामाकरणलाई लिएर आफूहरू जस्ता जनजाति नेताहरू माथि पटक पटक प्रहार गरिएको दुखेसो गरे । आन्दोलनरत पहिचानबादीहरु संग वार्ता गरेर समस्याको समाधानको पहल गरिए पनि उनीहरूबिच नै एकता नभएर समस्या सिर्जना भएको उनले बताए ।


