विराटनगर । मोरङको बेलबारी–३ की १२ बर्षिया बालिका सोमबार राति बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार गरेको आरोपमा बेलबारी–३ का २० वर्षीय नवीन महरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक उदयशम्शेर राणाको नेतृत्वमा रहेको टोलीले मंगलबार महरालाई उनकै घरबाट पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आफ्नै घरमा सुतिरहेकी बालिकालाई लगेर राति ११ बजेतिर महराले उठाएर आफ्नो घर लगी बलात्कार गरेको खुलेको छ ।
प्रहरीका अनुसार महराको घरबाट आफ्नो घर फर्कदै गर्दा स्थानीय र आफन्तले मंगलबार बिहान बाटोमा बालिकालाई भेटेका थिए । उनीहरुले सोधखोज गर्दा बालिकाले घटनाबारे बताएकी थिइन् । धम्की दिँदै हातमा समाएर तान्दै लगेको र रातभर बलात्कार गरेको उनले बताएकी थिइन् ।
बालिकाका अभिभावकले महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी दाहालले बताए । पीडित बालिकालाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि धरान लगिएको छ ।


