विराटनगर : कोशी प्रदेश सरकारकि स्वास्थ्यमन्त्री निर्मला लिम्बूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको जसपा प्रदेश समितिको बैठकले एमाले नेतृत्वको सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि लिम्बूले राजीनामा दिएकी हुन् । प्रदेशमा जसपाकी एक्ली सांसद लिम्बू २०७९ पुस २५ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी भएकी थिइन् ।

तर, प्रदेशको नामकरणपछि सरकारले पहिचान पक्षधरको आवाजलाई बेवास्ता गरेपछि आफूले राजीनामा दिएको उनलेे बताएकी छिन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, “प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएपनि मुख्यमन्त्रीले वेवास्ता गरेको र पहिचान पक्षधरको आवाजलाई वार्ता र सम्वादमार्फत सम्बोधन गर्न प्रस्ताव गर्दा पनि अस्वीकार गरेकोले नैतिकताको आधारमा राजीनामा दिएको छु।”

लिम्बूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार कमजोर छ । उनी माओवादी, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।