विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेशको नाममा पुनःविचार गर्न माग गरेको छ । बुधबार कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुले संयुक्त विज्ञप्ति निकाल्दै प्रदेशको नाममा पुनःविचार गर्न माग गरेका हुन् ।
कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्ने भन्दै उक्त तथ्य ध्यानमा राखी नामकरणमा पुनःविचार गर्न कांग्रेसले प्रदेशसभा समक्ष माग राखेको छ ।
यस्तै नामकरणपछि उत्पन्न परिस्थितिका कारण घाइते आन्दोलनकारीहरु तथा सुरक्षाकर्मीहरुको यथोचित उपचारमा सरकारले ध्यान दिनुपर्ने उनीहरूको माग छ । ‘संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान मन्त्र हो भन्ने पनि सम्बन्धीत सबैलाई स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।
‘प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ । यो विरोधकको सुनुवाई नेपाली काँग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जननायक विपी कोइरालाले ७ दशक अघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली काँग्रेसलाई दृढताका साथ उभ्याउनु भएको स्मरण गर्दै अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं ।’



