विराटनगर : कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् ।

बिहीबार एमाले संसदीय दलका उपनेता राम राना र प्रदेशसभाकी सृजना दनुवारमाथि नामकरणमा विरोध जनाउँदै आएको पक्षले आक्रमणको प्रयास गरेपछि ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रदेशको नाम कोशी राख्नुपर्छ भन्दै मतदान गरेको स्मरण गराउँदै उनले माओवादी नागरिक भड्काउन अग्रसर रहेको आरोप लगाए । उनले भने, ‘माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दियो पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको छ ।’

पहिचानवादीलाई प्रचण्डले भड्काइरहेको उनको आरोप छ । ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उनले भने।

उक्त आन्दोलनप्रति एमालेले प्रतिवाद गर्ने ओलीको भनाइ छ । ‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन यस्तोमा’ उनले भने ।