विराटनगर : पहिचानको आन्दोलन गरिरहेको समूहले कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि एमालेले विरोध जनाएको छ ।
पहिचान पक्षधर समूहले उपसभामुख दनुवारलाई उदयपुरमा र उपनेता राना मगरलाई इलाममा आक्रमणको प्रयास गरेका थिए । पहिचानवादी समूहले एमाले सांसद र मन्त्रीहरुलाई पटकपटक आक्रमणको प्रयास गर्दै आएका छन् ।
यसको विरोध गर्दै एमाले कोशी प्रदेश संसदीय दलले आक्रमणको भर्त्सना गर्दै यस्ता कार्य नगर्न अनुरोध र आग्रह गरेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
‘समाजमा अमन चयन कायम गर्ने, शान्ति सुरक्षा कायम गर्ने सङ्घीय सरकारको दायित्व हो,’ भण्डारीले भने, ‘शान्ति सुरक्षा कायम गर्न सङ्घीय सरकार चुक्दै गएको देखिन्छ ।’
उनले प्रदेशको नामकरणलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलबाट समस्याको समाधान खोज्न समेत अनुरोध र आग्रह गरेका छन् ।


