विराटनगर : कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले कोशीमा एमालेको साथ र समर्थनबिना नाम फेर्न असम्भव रहेको बताएका छन् ।

शनिबार प्रदेश राजधानी विराटनगरमा संसदीय पत्रकार मंच कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा बोल्दै उनले नेकपा एमालेमाथि आक्रमण र उपेक्षा गरेर प्रदेशको पुनः नामकरण असम्भव रहेको बताए ।

‘नाम नै फेर्नुपर्दा एमालेको साथ र समर्थनबिना सम्भव छैन्,’ मन्त्री राजभण्डारीले भने । प्रदेशको नामकरणपछि प्रदेशमा भइरहेको आन्दोलनको समस्या समाधान गर्न सरकारले वार्ता समिति गठन गरेपनि पहिचानवादी समूहले वार्ता गर्न बेवास्ता गरिरहेको उनको भनाइ छ ।

नामकरणपछिको विवाद समाधान गर्न प्रदेश सरकारले खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्यङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको थियो । तर, वार्ता समिति गठन भएकै भोलिपल्ट एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगर र प्रदेशसभाकी उपसभामुख सृजना दनुवारमाथि पहिचानवादी समूहले आक्रमणको प्रयास गरेका थिए ।

प्रदेशको नामकरण गर्दा समर्थन गरेका दलहरुले अहिले दोहोरो चरित्र देखाउन थालेको उनले बताए ।

सरकारले वार्ता टोली बनाउँदा पनि ढुंगामुढा गरिरहँदा वार्ता गर्न समस्या भएको मन्त्री राजभण्डारीले बताए । उनले भने, ‘वार्ता समिति बनेको छ । तरपनि ढुंगामुढा भइरहेको छ । वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हुन्छ ? पुनः नामकरण एमाले नभई संशोधन नहोला नि !’

उनले पहिचानवादी समूहलाई दुईजिब्रे कुरा नगर्न आग्रह गरेका छन् । ‘हामी भन्छौँ– असन्तुष्ट जाहेर गर्ने दुईजिब्रे कुरा नगरौँ । छलफल गरौँ, टुंगो लगाऔँ । यस्तै स्थिति भए वार्तामा टोली बनाएर आउनुहोस्’ उनले भने ।

उनले एमाले नफकाए नाम संशोधन नहुने बताए । पुनः नामकरणका लागि एमालेले मत नदिउन्जेल दुईतिहाइ नपुग्ने भएकाले एमालेमाथि आक्रमण गर्दा नाम फेर्न असम्भव रहेको उनको भनाइ छ ।