विराटनगर : कोशी प्रदेशको नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेको पक्षलाई वार्तामा आउन प्रदेश सरकारले औपचारिक पत्र पठाएको छ ।
आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न जेठ २४ गते बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सिचाइ मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । तर, वार्ता समिति गठन गर्दासमेत पहिचानवादीले सांसदहरुलाई आक्रमणको प्रयास जारी राखेपछि सरकारले सोमबार औपचारिक पत्र पठाएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत शुवास श्रेष्ठले हस्ताक्षर गरेको पत्रका प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई सम्बोधन गरिएको छ ।
फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरुको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको थियोे ।


