विराटनगर : कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको छ । बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पशे गरेका थिए ।

कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

सरकारले गरेकमो सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता नरेन्द्र श्रेष्ठले प्रदेश प्रमुखले चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेको जनाएका छन् ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा छ।

अल्पमतको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पारित हुने अवस्था छैन। सदनबाट पारित नहुने भएपछि अध्यादेशको बाटोबाट सरकारले बजेट ल्याउने तयारी गरेको हो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

बुधबारको प्रदेशसभामा प्रतिपक्ष दलले अल्पमतको सरकारले ल्याएको बजेट मान्य नहुने भन्दै पास नहुने बताएका थिए। त्यसको प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अध्यादेशबाट भएपनि बजेट ल्याउने संकेत गरेका थिए ।

बहुमत सांसद नपुग्ने भएपछि सरकारले अध्यादेशको बाटो रोजेको एमालेका सांसदले बताए । अध्यादेशबाट बजेट ल्याउनका लागि चलिरहेको बजेट अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आकस्मिक मन्त्रिपरिषदको बैठक बसेर अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको ती सांसदले बताए ।