सुनसरी / अपाङ्गता भएका व्यक्तिहरुलाई होटलहरुमा रोजगारीको अवसर सृजना गर्न इटहरीका होटल व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।


आज बुधबार इटहरीमा द लेप्रोसी मिसन नेपाल फण्ड परियोजना विराटनगरले आयोजना गरेको पर्यटन तथा होटल व्यवसायीहरुसँग सम्भावित रोजगार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा उनिहरुले योग्य व्यक्तिलाई रोजगार दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।


कार्यक्रममा परियोजनाका व्यवस्थापक विपिन दासले फण्ड परियोजनसँग ६१३ जना अपाङ्गता भएका व्यक्तिहरु सुचिकृत रहेको जानकारी दिदै उनिहरुमध्ये ९२ प्रतिशत व्यक्ति साक्षर रहेको र विभिन्न पदका लागि योग्य रहेको बताए ।


 कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलिले कोरोना पछिको समय आर्थिक मन्दीका कारण जटिल रकाले अपाङ्गता भएका व्यक्तिहरुलाई होटलमा रोजगारी दिन आफूहरु सकारात्मक रहेको बताए ।


हाल कोशी प्रदेशमा ९२ जना अपाङ्गता भएका व्यक्तिहरु औपचारिक श्रममा रहेको फण्ड परियोजनाले जनाएको छ । परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न क्षेत्रमा रोजगारीको वातावरण सृजना गर्ने, उनिहरुलाई विभिन्न सिप विकासका तालिम दिने गरेको छ ।