सुनसरी / मोरङको बेलबारी नगरपालिकाले नगरभित्रका रासयनिक मल बिक्रेता फर्मलाई रासयनिक मल बिक्रेता प्रमाणपत्र किन खारेज नगर्ने भनी दुई दिने स्पष्टिकरण सोधेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारीले पालिकाले तोकेको भन्दा बढी मुल्यमा फर्म तथा सहकारीहरुले किसानलाई अनुदानको मल बेचेको विषयमा ज्ञापन पत्र बुझाएपछि सम्बन्धित रासायनिक मल बिक्रेता फर्मलाई नगरपालिकाले स्पष्टिकरण सोधेको छ ।
गत २०७९ चैत्र ११ मा नगर उपप्रमुख सहित अनुदानको रासायनिक मल बिक्री सम्बन्धमा बसेको पालिकाको बैठकले प्रति के. जी. युरीया मल खरिद मुल्य रु १५ , ढुवानी प्रति के जि रु १.७०, लोड अनलोड प्रति के.जी रु ०.२६ र सेवा शुल्क प्रति के.जी रु १ रुपैयाँ थप गरी प्रति केजी युरीया मलको खुद्रा बिक्री मुल्य १७.९६ र प्रति ५० केजी बोराको युरिया मलको मुल्य रु ८९८ मुल्य तोकेको थियो ।
त्यसै गरी खुद्रा प्रति केजी डिएपीको मुल्य रु ४९ र प्रति ५० के. जी डिएपीको बोराको अधिकतम मुल्य रु २,३४८ त्यसै गरी पोटासको खुद्रा मुल्य प्रति के जी रु ३७ तथा ५० के.जी बोराको रु १,७४८ हुनु पर्ने पालिकाको निर्णयमा उल्लेख छ ।
यसको बाबजुद बिक्रताहरुले रु प्रति ५० के. जी.युरिया मल रु ९ सय ५०।( देखि रु १ हजार सम्म बिक्री गरेको पाइएको छ । केही बिक्रेताहरुले किसानलाई बिल समेत नदिने गुनासो उपभोक्ताले गरेकाले सबै अनुदानको रासायनिक मल बिक्रेताहरुले किसानलाई मल बिक्री गर्दा अनिवार्य बिल बिजक जारी गर्नु पर्ने नगरको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
पत्रमा सबै वडा कार्यालयले मल बिक्रीको अनुगमन गरिदिनु पर्ने समेत जनाइएको छ । बेलबारी रास्वपाले नगरपालिकाको निर्णय अक्षरस पालना हुनुपर्ने र अनुदानको रासायनिक मल बिक्री गर्दा किसानलाई मार पार्न नहुने बताएको छ ।


