सुनसरी / श्रीमती पुरुष भएको भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिएका थिए ।

उदयपुरको बेलका नगरपालिका– ६ का बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन् । श्रीमती  लैङ्गिक अल्पसंख्यक  परेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । 


राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका नम्बर - ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका थिए। तर, अहिले आएर एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर उजुरी दिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।


इप्रकाले दुवैलाई सँगै राखेर छलफल गराउने तयारी गर्दै गर्दा एक्कासि श्रीमती बिरामी भएपछि उपचाका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।


अनुसन्धानमा खट्ने प्रहरीका अनुसार महिला बन्ने व्यक्ति ३१ वर्षीय राजु राई हुन्। झट्ट हेर्दा पूर्ण रुपमा महिला देखिने उनी वास्तवमा भने पुरुष भएको अनुसन्धानबाट खुलेको छ ।


रीमा उजुरी दिनुअघि नम्बरले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए। तर, नगरपालिका नीति कार्यक्रम बनाउने चटारोमा रहेको र वास्तविकता पत्ता लगाउन प्रहरीको सहयोग चाहिने भन्दै न्यायिक समितिले इप्रकामा पठाएको थियो।


अहिलेसम्म सँगै घरजम गरिबसेका उनीहरु ६ महिनासम्म ओछ्यान साझा नगरेपछि श्रीमान्लाई शंका लागेर हेर्दा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि प्रहरी गुहार्न आएको बताइएको छ।


वैदेशिक रोजगारीका लागि मलेसियामा हुँदा सामाजिक सञ्जाल फेसबुकमा उनको शर्मिला राई नाम गरेकी युवतीसँग चिनजान भयो । चिनजानपछि उनीहरुको सम्पर्क बढ्यो । विस्तारै प्रेम सम्बन्धमा जोडिए । शर्मिलाले बिरामी छु भनेपछि विवाह गर्ने सर्तमा मलेसियाबाट उनले उपचारका लागि पैसा पनि पठाए ।   राई गत मंसिरमा मलेसियाबाट घर फर्किए । माघमा भतिजको छेवर (कपाल काट्ने कर्म) गर्ने भएपछि उनलाई निम्तो गरे । 


भोजपुर घर बताउने राई नम्बरको घरमा आइन् । छोराले बुहारी ल्यायो भन्दै घरमा आफन्तले रित पुर्‍याएर विवाह गरेर घरमा भित्र्याए । गाउँलेका लागि विवाह भोज पनि आयोजना गरे । माघमा विवाह गरेकी दुलही शर्मिला महिला नभएको थाहा पाएपछि आफन्तसँगै स्थानीयबासिन्दा अचम्ममा परेका छन् । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाल नम्बर राईसँग विवाह गर्ने व्यक्ति लैङ्गिक अल्पसंख्यक रहेको बताउँछन् । प्रहरीमा उजुरी आएपछि दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै उनले शर्मिला भनिने राजु लैङ्गिक अल्पसंख्यक रहेको बताए ।