इटहरी / ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियार सहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा आज इटहरी उद्योग वाणिज्य सङ्घले बजार बन्दको आह्वान गरेको छ ।


इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा उद्योग वाणिज्य सङ्घ इटहरी खरो उत्रिएको हो । प्रहरीसमेत लिएर गइ बैंकले आइतबार इटहरीको शुभलक्ष्मी ज्वेलर्सको सामान जफत गर्न खोजेको थियो । 


बैंकबाट लिइएको ऋणको साँवा व्याज तिर्न नसकेपछि बैंकले ऋण लिँदा राखेको सम्पती लिलामीका लागि पत्रिकामा सूचना प्रकाशन गरिसकेको थियो ।  बैङ्कको आतङ्क बढ्दै गएपछि इटहरी उवासंघले विरोधको कार्यक्रम घोषणा गरेको छ । 


आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट भएको बेला बैङ्कले अमानवीय र ज्यादतीपूर्ण व्यवहार गरेको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । 



आइतबार राती आकस्मिक बैठक बसेको उवासंघ इटहरीले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण व्यापारी व्यवसायीलाई आह्वान गरेको छ । आइतबार ज्वेलर्सका सरसामान जफत गर्ने प्रयास गरेको बैङ्क लामो समय गलफती गरेपछि फिर्ता भयो । 


कोरोना र आर्थिक मन्दीजस्ता संकटबाट गुज्रिरहेका व्यवशायीहरुलाई आतंकित बनाउने कामको आफूहरुले सधै विरोध गर्ने बताए ।