इटहरी / विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु आर्थिक वर्षकोभन्दा ९० करोड रुपैया घटाएर बजेट ल्याएको छ । यो भनेको चालु आवको भन्दा २१ प्रतिशतभन्दा ज्यादा हो ।


आइतबार नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २८ करोडेको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा विराटनगरको बजेट ३ अर्ब ७३ करोड ७५ लाख थियो । उक्त बजेटलाई बीचमा संशोधन गर्दै महानगरले चार अर्ब १७ करोड पुर्‍याएको थियो ।


बजेटअनुसारको आम्दानी नभएपछि विराटनगरले बजेट घटाएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ अर्ब ८६ करोड ८३ लाख रुपियाँ मात्र आम्दानी भएपछि विराटनगरले आगामी वर्षको बजेट घटाएको हो ।  आन्तरिक राजस्व अर्ब ६० करोड रुपैया संकलन गर्ने अनुमान गरिएकोमा जेठ मसान्तसम्म महानगरले ५१ करोड ६५ लाख रुपैया मात्र संकलन गर्न सकेको छ ।


यो पटक महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हन्तान्तरमार्फत १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आम्दानीबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड र अन्य संघ संस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोड रुपियाँ आय हुने अनुमान गरेको छ ।


खर्चतर्फ महानगरपालिकाले कार्यालय संचालन तथा प्रशासनिक तर्फ ६८ करोड, पूर्वाधार विकास तर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास तर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास तर्फ ८५ करोड २० लाख ४४ हजार, सुशासन तर्फ ३ करोड ५ लाख र विपद् व्यवस्थापन तर्फ २ करोड ७२ लाख रुपियाँ विनियोजन गरेको छ ।