विराटनगर : सहज च्यालेन्ज फण्डले कृषिमा नविनतम सेवा प्रदान गर्नेलाई सहयोग गर्ने भएको छ ।
बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै फण्डले नविनतम् उत्पादन विकास र गुणस्तर सुधार तथा पर्यावरणीय पहलहरू सम्बन्धि सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आह्वान गरेको हो ।
फण्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्यमा विद्यमान समस्या तथा अवरोधहरु समाधान गर्न चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचौ चरणमा पर्यायवरणीय तथा वातावरणीय पहलहरूका सेवाहरू प्रदान गर्ने सेवा प्रदायकहरूलाई सहयोग गर्ने बताएको छ ।
नेपाल कृषि बजार विकास कार्यक्रमकी टिम लिडर रिमा श्रेष्ठले स्विस कोन्टाक्ट, एन ए एम डी पी सहज च्यालेन्ज फण्ड र कोशी प्रदेशमा कृषि सेवा बढाउन सहज च्यालेन्ज फन्डको महत्वको बारेमा जानकारी गराइन् । सहज च्यालेन्ज फण्डले ५ लाख देखि ५० लाख रकमसम्म सहयोग गर्ने बताइएको छ । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमता जाँच गरी सहयोग रकम तोकिने फण्डले जनाएको छ ।
चौथो चरणमा उपकरण तथा मेशिनरी खरिदका लागि सहयोग नदिने र पाँचौँ चरणमा प्राप्त हुने सहयोगबाट ३० प्रतिशत उपकरण तथा मेशिनरी खरिदमा प्रयोग गर्न सकिने भएको छ । च्यालेन्ज फण्डका लागि २०८० श्रावण ७ सम्म आवेदन दिन सकिनेछ । आवेदनको समय सकिएपछि पहिलो चरणको मुल्यांकन गरिने र सफल आवेदकहरूलाई पूर्ण व्यवसायिक योजना बुझाउन अनुरोध गरिने सफल च्यालेन्ज फण्डले जनाएको छ ।
विराटनगर खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल र कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयको पशुधन र खाद्य सुरक्षा शाखाका विभागीय प्रमुख डा दिपा दिवालीको उपस्थितिमा कार्यक्रम भएको थियोे ।


