विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा साथ दिन  आग्रह गरेका छन् ।


विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह गरेका हुन् ।


साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नगर्ने प्रस्ट बताए । सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सरजस्ता जटिल रोगका बिरामीहरु बढ्दै गएका छन् । 


महानगरको एक्लो प्रयासले मात्रै विराटनगर बनाउन नसकिने बताउँदै मेयर कोइरालाले हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्नुपर्ने आवश्यक रहेको छ । उहाँले पछिल्लो समय विराटनगरको पहिचान गुम्दै गएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । विराटनगरको नयाँ पहिचान खोजी गर्नुपर्नेमा उहाँले जोड दिए ।


 मेयर कोइरालाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । विभिन्न तालिमका माध्यमबाट विराटनगरका युवाहरुलाई स्वरोजगार बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । मेयर कोइरालाले रेडियोको महत्व कहिल्यै नघट्ने उल्लेख गरे । वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले चालु आर्थिक वर्ष स्वरोजगारमूलक विभिन्न ६ वटा तालिम सञ्चालन गरेको बताए । IMG_20230629_221221