विराटनगर : कोशीका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको हो ।
प्रदेश सभामा आज भएको मत विभाजनका क्रममा उनले विश्वासको मत प्राप्त गर्न सकेनन् । मुख्यमन्त्री कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको छ । १ सिट भएको जसपाकी सांसद निर्मला लिम्बू भने दुवै पक्षमा समर्थन नगर्ने भएर अनुपस्थित भइन् । ८९ सदस्य उपस्थित रहेका थिए।
९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक रहेको अवस्थामा सत्तारुढ दल नेकपा एमालेका ४० र राप्रपाका ६ गरेर ४६ जनाले पक्षमा मतदान गरेका हुन् । विपक्षी गठबन्धनका दलहरु नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२ र नेकपा एससँग ४ गरेर जम्मा ४३ जना मात्र सांसदहरु विपक्षमा रहेका छन् ।
नयाँ मन्त्रिपरिषद् गठन नहुन्जेलसम्मका लागि प्रदेश प्रमुख खापुङले कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा (३) कमोजिमयही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।


