काठमाडौं / नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने काम भइरहेको छ । पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउने काम भईरएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउन दिन भर लाग्ने प्रहरीले जनाएको छ ।

गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडकबाट दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।