काठमाडौं / नेपाल सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।



नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुवातदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको हो ।


बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए ।


यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम भएको हो ।


 यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुईसय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सातसय ७३ र मेमा ७७ हजार सातसय तीन विदेशी पर्यटक नेपाल आएका थिए। साथै जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।