विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् ।

प्रदेश प्रमुखको कार्यालयबाट नियुक्ति पत्र लिएर बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले कोशी प्रदेश नाम परिवर्तन नहुने बताए ।

उनले पहिचानको नाममा भइरहेको आन्दोलनलाई सम्बोधन गरेर अघि बढ्ने बताए । उनले भने, ‘वार्ताका माध्यमबाट हामी पहिचान पक्षधरको मागलाई सम्बोधन गर्छौं ।’

यस्तै उनले ३० दिनभित्र विश्वासको मत लिने दाबी गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । उनले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।