विराटनगर : कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि उनी विवादमा तानिएका छन् ।
सभामुख गौतमले थापालाई मुख्यमन्त्री बनाउन दलको सदस्यको हैसियतमा हस्ताक्षर गरेपछि उनी विवादमा तानिएका हुन् ।
थापाले सभामुखसहित ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
संविधानविद्हरुले पनि सरकार गठनमा सभामुख संलग्न हुने कुरा संविधान विपरीत भएको बताउँछन् । संविधानविद् डा. भीमार्जुन आचार्यले सभामुख कै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले नगरेको बताए।
सरकार बनाउन सभामुखले मत दिनु असंसदीय र असंवैधानिक भएको उनको तर्क छ ।
सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिए पनि कोशी प्रदेशका सभामुखले गरेको कार्य संसद्को अपहेलना जन्य कार्य भएको उनले बताए । उनले भने, ‘यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ।’


