काठमाडौं / कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएकाले मुख्यमन्त्री नियुक्त गर्ने निर्णय खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्न भोलि आइतबार पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिटमाथिको सुनुवाइका लागि आइतबारको पेसी तोकिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले रिट दायर गरेको हो ।
एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत् रिट दर्ता गराएका हुन् । कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ रिट दर्ता गराएका हुन् । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।
रिटमा संविधानको धारा १६८ ९२० बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरिएको छ ।


